विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित:

भीमदत्त नगरपालिका–२, महुलीयास्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि स्वास्थ्य, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारको सोह्रौँ योजनाले अघि सारेको “सुशासन, सामाजिक न्याय र समृद्धि” को राष्ट्रिय लक्ष्यलाई स्थानीयस्तरबाट सहयोग पुर्‍याउने उद्देश्यले कञ्चनपुरमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

जर्मन नेपाल हेल्थ एसोसिएसन (GNHA) को आर्थिक तथा प्राविधिक सहयोगमा PESWAN द्वारा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विद्यालय तथा समुदायमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छता प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रमले सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित शौचालयको प्रयोग, महिनावारी स्वच्छता, फोहोरमैला व्यवस्थापन तथा स्वस्थ व्यवहार प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । सोही कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित पिउने पानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता तथा प्याड व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी जानकारी तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

अभिमुखीकरणका क्रममा विद्यार्थीहरूमा स्वस्थ बानी तथा सरसफाइसम्बन्धी व्यवहारको विकासले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै विद्यालयमा नियमित उपस्थिति र सिकाइका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमले विद्यालयमा मात्र नभई विद्यार्थीमार्फत घरपरिवार तथा समुदायसम्म स्वास्थ्य, सरसफाइ र स्वच्छतासम्बन्धी सकारात्मक व्यवहार विस्तार हुने अपेक्षा गरिएको छ। विद्यालय तथा समुदायमा स्वस्थ बानीको विकास गर्दै स्थानीयस्तरबाटै राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
यस प्रकारका WASH सम्बन्धी गतिविधिले विद्यार्थी, विद्यालय र समुदायलाई सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताका अभ्यासमा थप जिम्मेवार बनाउँदै स्वस्थ तथा स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

समयसीमा अपडेट