कञ्चनपुर— कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० माडुटोलमा श्रीमानको कुटाइबाट एक जना महिलाको मृत्यु भएको छ । ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो सामान्य वाद विवादमा रन बहादुरले श्रीमती पारुमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यन्त्र लैजान भन्दै उनलाई स्वास्थ्य केन्द्रले रिफर गरेको बताईएको छ ।
‘कुटपिट पछि घाईते ती महिलालाई उपचारका लागि अस्पताल लगिएको रहेछ,’ डिएसपी रावतले भने, ‘आज बिहान मृत्यु भयो भन्ने खबर आयो ।’ कुटपिट गर्ने रन बहादुरलाई नियन्त्रणमा लिइएको डिएसपी रावतले बताए ।

