back to top
बिहीबार, २०८२ माघ १ गते

जोखिम मोलेर यात्रा नगर्नुस् भन्दा, उल्टै प्रहरी इन्चार्जमाथि आक्रमण !

जोखिम मोलेर यात्रा नगर्नुस् भन्दा, उल्टै प्रहरी इन्चार्जमाथि आक्रमण !

प्रकाशित:

महेन्द्रनगर– निर्माणाधिन र रुट नै नखेलेको सडकमा जोखिम मोलेर यात्रा नगर्नुस् भन्दा डियुटीमा खटिएका प्रहरी इन्चार्जमाथि आक्रमण गर्ने तिन जनालाई पक्राउ गरिएको छ ।

कञ्चनपुरको ब्रम्हदेबस्थित ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र बहादुर चन्दमाथि हातपात गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी नायब निरीक्षक चन्दमाथि आक्रमणमा संलग्न तेज बहादुर बोहरा, भरत जोशी र रमेश धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए ।

महेन्द्रनगरबाट डडेल्धुराको सादनी जादैं गरेको रातो प्लेटको सु.प.प्र.०१प००१च ४४५६ नम्बरको बोलेरो जिपका चालक र यात्रुले बिहीबार साँझ भीमदत्त नगरपालिका– ९ ब्रम्हदेबस्थित महाकाली कोरिडोर मार्गमा इन्चार्ज चन्दमाथि हातपात गरेका हुन् ।

६ जनाको सिट रहेको बोलेरो जिपमा १८–२० जनाको संख्यामा यात्रु सवार थिए । उक्त जिपलाई रोक्न खोज्दा चालक सहित यात्रुले आफुमाथि आक्रमण गरेको इन्चार्ज चन्दले समयसीमालाई बताए ।

इन्चार्ज चन्दका अनुसार क्षमताभन्दा बढी यात्रु र सामान बोकेका जिप चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरे लगतै एक्कासी उनीहरु हातपातमा उत्रिएका थिए ।

यात्रु र चालकको आक्रमणबाट घाइते भएका प्रहरी नायब निरीक्षक चन्द महाकाली अस्पतालमा उपचारपछि गए रातीनै डिस्चार्ज भएका थिए ।

प्रहरी नायब निरीक्षक चन्दमाथि आक्रमण गर्नेहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताए ।

निर्माणाधिन महाकाली कोरिडोर अन्तरगत कञ्चनपुरको ब्रम्हदेबदेखी डडेल्धराको जोगबुडासम्म केहिसमय यतामात्रै ट्याक खोल्ने काम भएको छ । उक्त सडकमा सवारीसाधन गुड्न सहज छैन । निर्माणको धेरै काम अझै बाकी छ ।

समयसीमा अपडेट