महेन्द्रनगर–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिमलगायत देशभर व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ ।
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहि अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको हो ।
देशको अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेपनि सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राती सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराईको केही स्थान, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाको कारण देशको पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।