महेन्द्रनगर– कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको दृष्टिको समस्या छ । कक्षा कोठामा उनले अगाडि बोर्डमा लेखिएका अक्षर स्पष्ट रूपमा देख्न सक्दिनन् । उनको उक्त समस्याको पहिचान गर्न सकिएको थिएन । जब गाउँपालिकाले विद्यालयलाई नमूना विद्यालयको रूपमा छनौट गरेर समावेशी शिक्षण विधि अपनायो त्यसपछि रानाजस्तै अन्य फरक क्षमता (अपाङ्गता) भएका विद्यार्थीको पहिचान भयो । “विद्यालयमा हरेक दिन राउन्ड अनुसार सिट प्लानिङ हुने भएकाले विद्यार्थीले कहिले अगाडि कहिले पछाडी बस्नुपर्छ ।”भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले बताए, “आँखा कम देख्ने र कम सुन्नेजस्ता समस्या भएका विद्यार्थीलाई समस्या हुँदो रहेछ यो कुरा न हामीले पहिचान गर्न सक्यौ न विद्यार्थीले नै हामीलाई समस्या बारे बताए ।” उनले विद्यालयलाई नमूना विद्यालय छनौट गरेर समावेशी र शिक्षण विधि अपनाएपछि कम देख्ने र कम सुन्ने विद्यार्थीको पहिचान भएको बताए ।
“अहिले कम देख्ने र सुन्ने तथा अपाङ्गता भएका बालबालिकालाई पनि सोही कक्षा कोठामा व्यवस्थापन गरेर शिक्षण गर्ने गरेका छौँ ।”उनले भने, “यसले सबै विद्यार्थीको शिक्षामा सहज पहुँच पुगेको छ विद्यार्थीको पढाई समेतमा सुधार देखिएको छ ।” उनले अहिले विद्यालयले गुणस्तरी शिक्षामा जोड दिएको बताए ।
त्यसैगरी बेलडाँडी–४ स्थित सरस्वती जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र बुढाले पालिकाले नमूना विद्यालय छनौट गरेपछि वडामा आएको बजेटको ५० प्रतिशत बजेट विद्यालयको विकासका लागि आउने गरेको जानकारी दिए । “हामीले विदाको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्रैमासिक रूपमा अभिभावकसँग अन्तरक्रिया गर्ने गरेका छौँ ।” उनले भने, “शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि वडाको पचास प्रतिशत बजेट आउँछ ।” उनले अहिले विद्यालयमा २४ जना अपाङ्गता भएका विद्यार्थी समेत भर्ना भएर अध्ययन गरिरहेको बताए । “अपाङ्गता भएका विद्यार्थीलाई पनि राखेर एउटै कक्षा कोठामा समावेशी ढङ्गबाट अध्यापन गराउदै आएका छौ ।”उनले भने,“पर्याप्त जनशक्ति र प्रविधिमैत्री कक्षा कोठा नहुँदा केही कठिनाइ भएको छ ।”

लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले नेपाल राष्ट्रिय समाज कल्याण सँघसँगको सहकार्यमा पालिकाले तीन वटा नमूना विद्यालय छनौट गरेर शिक्षामा गुणस्तर सुधार र समावेशी शिक्षामा जोड दिएको बताए । “संस्थाको प्राविधिक सहयोगमा अपाङ्गता भएका विद्यार्थीलाई पनि शिक्षाको पहुचमा ल्याएका छौँ ।” उनले भने,“गुणस्तरी शिक्षाका लागि नमूना विद्यालय छनौट गरेरै त्यसको विकासमा लागेका छौँ ।” उनले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्जित हुन नदिन विद्यालयलाई समावेशी बनाएर एउटै कक्षा कोठामा फरक क्षमता भएका विद्यार्थी समेतलाई अध्ययन गर्ने व्यवस्था गरेका छौँ ।” उनले प्रविधिमैत्री शिक्षण सिकाइका लागि विद्यालयलाई तीन स्मार्ट बोर्डसमेत उपलब्ध गराएको बताए ।
यहाँका दुई वटा पालिकाका ६ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्न लागिएको हो । बेलडाँडी गाउँपालिका स्थित सरस्वती जनता माध्यमिक विद्यालय, रौलेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गरिन लागेको हो । त्यसैगरी लालझाँडी गाउँपालिले भानु माध्यमिक विद्यालय, जनचेतना माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा अघि बढाएको छ । छनौट भएका नमुना विद्यालयहरुमा प्रत्येक वालवालिकाहरुको कार्यगत सिमितता पहिचान गरि सोहि अनुरुप कक्षाकोठा भित्रको वातावरण अनुकुल शिक्षण विधिलाई प्रोत्साहन गरिएको परियोजनाका प्रबन्धक विशन देव जोशीले बताए ।
उनले गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उदेश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका ६ वटा पालिकामा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत नमुना विद्यालय छनौट गरिएको बताए ।
“एक पालिका तीन नमुना विद्यालय छनौट गर्नुका साथै शिक्षक तथा अभिभावक तालिम, अपांगता पहिचान परीक्षण, र अपांगता भएका बालबालिकाका लागि सहायक उपकरणहरूको व्यवस्था, छात्रवृति कोष र शैक्षिक सामाग्रि उपलब्ध गराएका छौ ।” जोशीले भने—“यसले कक्षा कोठामा फरक क्षमता भएका विद्यार्थीको पहिचान गरेर सोहि अनुसारको पठनपाठन गर्न पे्ररित गरेको छ ।”अपाङ्गता भएका बालबालिकाहरुलाई अलग्गै विद्यालयमा भर्ना गर्नु भन्दा विद्यालयलाई समावेशी बनाउन लागिएको बताउदै यसले अपाङ्गता भएका विद्यार्थीको मनोबल बढ्ने उनले बताए । (रासस)