महेन्द्रनगर¬ दोधारा चाँदनी नगरपालिका-१ का स्थानीय ठुलो संख्यामा गत आइतबार विहानै घर नजिकै प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थल पुगेका थिए । गृहमन्त्री रमेश लेखक सुख्खा बन्दरगाह निरीक्षणका लागि आउने जानकारी पाएपछि उनीहरु त्यहाँ पुगेका हुन् ।
गृहमन्त्री लेखक पुग्न अघि नै स्थानीयको समुह मलेरिया नाला पारी बन्दरगाह निर्माण स्थल पुगेर वारी फर्कि सकेका थिए । दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय आफ्नै वडामा सुख्खा बन्दरगाह निर्माण हुने भएपछि उनीहरुमा खुशीको सिमा छैन । सुख्खा बन्दरगाह निर्माण भएपछि स्थानीयको जिवनस्तर उकासिने भन्दै दोधारा चाँदनीका बासिन्दा उत्साहित बनेका हुन । घर आँगनमै रोजगारी तथा स्थानीय कृषि उपजले सहजै भारतीय बजार पाउने स्थानीयको बुझाई छ ।
सुख्खा बन्दरगाह जोड्न भारत सरकारले वनबासा बजार नजिकै बाट थालेको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । गृहमन्त्री रमेश लेखक आइतबार दिउँसो सुख्खा बन्दरगाह स्थल पुगेका थिए । गृहमन्त्री लेखकले भारतले सुख्खा बन्दरगाह निर्माण कार्यको ठेक्का गरि सकेकाले छिट्टै निर्माण कार्य अघि बढ्ने बताए ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाह निर्माण कार्य छिटो सुरु गर्न आग्रह गरे ।
गृहमन्त्री लेखकले सुख्खा बन्दरगाह निर्माण कम्पनीका प्रतिनिधिसित निर्माण कार्यमा बारेमा जानकारी समेत लिएका थिए ।
दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थानीयले जग्गा दिन नमानेपछि १ नम्बर वडामा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको हो ।
सरकारले डेढ दशकअघि नै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने योजना बनाएको थियो ।
तत्कालिन सरकारले कञ्जभोजमा सुख्खा बन्दरगाह बनाउन लामो समय गरेका प्रयास सफल हुन सकेन । स्थानीयले अन्तिमसम्म सुख्खा बन्दरगाहका लागि जग्गा नदिने अडान कायमै राखेपछि स्थान सारिएको थियो । अहिले सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको छ ।
गृहमन्त्री लेखकले आइतबार निरीक्षणका क्रममा ठेक्का समेत भईसकेकाले अबको चार बर्षभित्र सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई संचालनमा आउने विश्वास व्यक्त गरे । उनले भनेका छन्,‘ आज महाकाली नदिको बाढी नियन्त्रण र पुल संरक्षण गर्न नेपाली सेनाले गरिरहेको काम, दोधारा चाँदनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह निर्माणस्थल र मझगाउँ एयरपोर्ट निर्माणस्थल हेरे । महाकाली नदि नियन्त्रणको कार्य प्रगति राम्रो छ । सुख्खा बन्दरगाहको ठेक्का भईसकेको हुँदा चाडै निर्माण कार्य प्रारम्भ गर्नु पर्छ । सुदुरपश्चिमको आर्थिक प्रगतिको ढोकाको रूपमा रहेका (गेम चेम्बर योजना) देशकै महत्वपूर्ण यी योजना चाडो सम्पन्न गर्नु पर्छ ।’
गृहमन्त्री लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद हुन् । सुख्खा बन्दरगाह गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रमा बन्न लागेको हो ।

पाँच वर्ष अघि प्रक्रिया थालिएको सुख्खा बन्दरगाहमा १० महिना अघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जग्गा प्रयोगका लागि दिने अनुमति दिएको थियो । मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुख्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि ठेक्का लगायतका प्रक्रिया अघि बढेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्न लागेका हो । सुख्खा बन्दरगाहका लागि मायापुरी सामुदायिक वनमा एक हजार पाँच सय ९३ रुख काटिएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि जग्गाको भोगाधिकार पाएपछि रुख कटान प्रक्रिया अघि बढेको थियो । रुख कटानका लागि ४१ लाखमा ठेक्का दिइएको थियो ।
पाँच अर्ब ७५ करोड खर्च लागत रहेको सुख्खा बन्दरगाह तीन वर्षभित्र निर्माणको काम सक्ने सम्झौता छ । जसमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेनटाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपाल र भारत सरकारबीच सुख्खा बन्दरगाह निर्माणका लागि सन् २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि भारतले दुई अर्ब ५४ करोड ३१ लाख भारतीय रुपैयाँको टेण्डर आह्वान गरेको थियो ।
नेपालले सुक्खा बन्दरगाहसम्म ६ लेन पहुँच मार्ग र महाकाली नदीमा चार लेन निर्माण गरि सकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिस अनुसारको क्षेत्रमै आधारित रहेर सुख्खा बन्दरगाह परियोजनाको गुरुयोजना तयार गरिएको थियो । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा भनिएको थियो ।
सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने गृहमन्त्री लेखकले बताए । उनले सुख्खा बन्दरगाह सञ्चालनमा आए कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने सपना सार्थक हुने बताए ।