रास्वपा कैलाली जिल्ला अधिवेशन अवैध रहेको आयोगको ठहर, सम्पूर्ण नतिजा बदर

विधिसम्मत निर्वाचन गर्न पुनः नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने ।

रास्वपा कैलाली जिल्ला अधिवेशन अवैध रहेको आयोगको ठहर, सम्पूर्ण नतिजा बदर

विधिसम्मत निर्वाचन गर्न पुनः नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने ।

प्रकाशित:

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न सम्पूर्ण निर्वाचन प्रक्रिया बदर गरेको छ ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रअनुसार कैलाली जिल्ला अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यविधि विपरीत भएको ठहर गर्दै सम्पूर्ण निर्वाचन र नतिजा रद्द गरेको हो ।

आयोगका अनुसार निर्वाचनका क्रममा न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, साथै अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको पाइएको छ । त्यस्तै, योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको समेत देखिएको आयोगको निष्कर्ष छ ।

विवादबीच सम्पन्न निर्वाचनमा कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए । अन्य उम्मेदवार महेश कुमार चौधरीले र हरि रेग्मीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचनअघि नै मतदान प्रक्रिया बहिष्कार गरेका थिए । उनीहरूले निर्वाचन रोक्न माग गर्दै औपचारिक उजुरीसमेत दर्ता गरेका थिए ।

निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै परेको उजुरी र प्रमाणहरूको अध्ययनपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो ।

आयोगले कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने तथा केन्द्रीय प्रतिनिधि टोली खटाइने जनाएको छ ।

समयसीमा अपडेट