back to top
सोमबार, २०८२ माघ १२ गते

कांग्रेसको सस्थापन पक्षलाई निर्वाचन आयोगले भन्यो, ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

कांग्रेसको सस्थापन पक्षलाई निर्वाचन आयोगले भन्यो, ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

प्रकाशित:

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।

आयोगमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेको बताए । ‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौं,’ गुरुङले भने ।

यसअघि बिहीबार विशेष महाधिवेशन पक्षधर कांग्रेसले गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भएको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारी आयोग पुगेका थिए । सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशन तथा केन्द्रीय समितिले गरेका निर्णय अद्यावधिक गरिदिन आग्रह गरेका थिए ।

आयोगले उपलब्ध प्रमाण र दलको विधानका आधारमा छिट्टै निर्णय दिने तयारी गरेको छ भने, देउवा पक्षले भने थापासहितका पदाधिकारीलाई कारबाही गरिएको जानकारी दिएको छ।

समयसीमा अपडेट