महेन्द्रनगर– तीन दिनदेखी लगातार भईरहेको वर्षाका कारण कञ्चनपुरका अधिकाँस क्षेत्र डुवानमा परेको छ । बिभिन्न नदी, खोला खहरेमा आएको बाढीका कारण जिल्लाका अधिकाँस क्षेत्र डुवानमा परेको हो ।
बाढी र डुवानका कारण दोधारा–चाँदनी नगरपालीको पश्चिम क्षेत्र सबै भन्दा बढी प्रभावित भएको छ । जोगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा दोधारा चाँदनीका ३, ७, ८ र १० नम्बर वडाका बासिन्दा डुवानमा परेका छन ।
दोधारा चाँदनी–७ स्थित १५ लाख रुपैयामा यसैबर्ष निर्माण गरिएको आधा तटबन्ध समेत जोगबुडा नदीले बगाएर छ । सोहि ठाउँबाट बाढी रामपुरे टापु र जर्का टोलतिर पसेको छ । स्थानीय बासिन्दाले कट्टामा बालुवा राखेर तटबन्ध कटान रोकथामको प्रयास गरेका थिए ।

बाढीका कारण दोधारा चाँदनीको सुन्दरनगर, जर्का टोल, शान्ति टोल र रमपुरे टापुका एक सय भन्दा बढी घर परिवार डुवानमा परेका छन । डुवानमा परेका बासिन्दालाई स्थानीय जमुना आधारभुत बिद्यालय, अम्बिका मावि र ओमकार आधारभुत बिद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जोगबुढा नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरीको जमुनाघारी र सुन्दरनगरस्थित बिओपी समेत डुवानमा परेको छ । दोधारा चाँदनी– १० स्थित १८ नम्बर नेपाल–भारत सीमा पिल्लर र झोलुङ्गे पुलमा समेत जोगबुडाको बाढीले क्षेती पुगाएको छ ।
त्यस्तै स्थानीय भुजेला खोलामा आएको बाढीका कारण भीमदत्त नगरपालीका–११ मा ५ वटा घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

महाकाली सहित मोहना, सुनवरा, मछेली, दोंदा नदी लगायतका खोला खहरेमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पनि केहि ठाउँमा डुवान र खेतियोग्य जमिन कटान भईरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले बताए ।
अबिरल बर्षाका कारण जिल्लाका धेरै ठाउँ जलमग्न भएपनि जनधनको क्षेती कहि कतै नभएको डिएसपी बोहराले जानकारी दिए ।


