दोधारा चाँदनी– कञ्चनपुर र डडेलधुराको भित्री मधेश जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णता पाएको छैन।
सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ। सडक निर्माणका लागि पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि उक्त समयसमेतमा सडक निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ। गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा एक करोड बजेट फ्रिज भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए।
“अहिलेसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ,” उनले भने, “सात किमी सडक निर्माणको काम बाँकि नै छ, निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ।” उनका अनुसार निर्माण व्यवसायीले २ करोड ९० लाख रुपैयाँ भुक्तानी पाउन मात्रै बाँकी छ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ। “पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन,” स्थानीय केशव बोहराले भने, “यो सडक निर्माण नहुँदा धेरै दुःख पाएका छौँ। हिउँदमा धुलाम्य हुन्छ वर्षादमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।”
उक्त ३१ किमी सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किमी घुमाउरो बाटो प्रयोग गर्नुपरेको उनको भनाइ छ। डडेलधुराको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा समेत छ।