महेन्द्रनगर– भीमदत्त नगरपालिका– १३ पिपरियास्थित महाकाली नदीको घाटमा थुपारिएको ग्राभेलका कारण दुई बर्षदेखी खानेपानी योजनाको बजेट फ्रिज हुदै आएको छ ।
खानेपानी योजना बनाउने जग्गामा राखिएको ग्राभेल हटाउन नसकिएपछि दुई आर्थिक वर्षको ३५ लाख बजेट फ्रिज भएको हो ।
ग्राभेल थुपारिएको क्षेत्रमा पिपरिया बडैपुर खानेपानी योजना प्रस्ताव गरिएको छ । योजनाका लागि प्राविधिक अध्ययन गरिएको छ । पछिल्ला दुई वर्ष काम हुन नसकेपछि बजेट फ्रिज भएको वडा अध्यक्ष राम बहादुर बोहराले बताए ।
उनका अनुसार उक्त क्षेत्रमा महाकाली नदीबाट ल्याएर अवैध रुपमा ग्राभेल थुपारिएको छ । पिपरिया घाट नजिक थुपारिएको ग्राभेलको स्टक प्रमाणित गरिएको छैन ।
‘यो ठाउँमा पहिलेदेखि नै ग्राभेल थियो, अहिले उठाई रहेका छन्,’ वडा अध्यक्ष बोहराले भने, ‘यो के कति परिमाणमा छ, कसरी राखियो, त्यस बारे मलाई केही थाहा छैन, वडा कार्यालयले खानेपानी योजनाका लागि जग्गा चाहिने भएपछि खाली गर्न नगरपालिकालाई पत्राचार गरिएको छ, ।’
अध्यक्ष बोहराका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा १५ लाख र अघिल्लो वर्ष २० लाख बजेट फ्रिज भएको हो ।
बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित उदयदेब अनमोल क्रसरका सवारी साधनले अहिले धमाधम ग्राभेल उठाई रहेका छन् ।
भीमदत्त नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर हिमालय ऐरीले पिपरिया घाटमा थुपारिएको ग्राभेलको नगरपालिका कार्यालयबाट स्टक प्रमाणित नभएको बताए । ‘स्टक प्रमाणित गराउनु पर्ने व्यवस्था छ, तर त्यसमा स्टक प्रमाणित भएको छैन,’ उनले भने ।
