back to top
शनिबार, २०८२ आश्विन ११ गते

सुदूरपश्चिमका तराईका जिल्लामा घट्दै, पहाडी जिल्लामा फैलिँदै स्क्रब टाइफस

सुदूरपश्चिमका तराईका जिल्लामा घट्दै, पहाडी जिल्लामा फैलिँदै स्क्रब टाइफस

प्रकाशित:

बैतडी– सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको दर प्रत्येक वर्ष बढिरहेको जनाएको छ ।

स्क्रब टाइफसका बिरामी तराईका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्लामा बढिरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । पहाडी जिल्लामा यो संक्रमण आर्थिक वर्ष ०८०–८१ भन्दा गत आव (०८१–८२) मा १ हजार ४ सय ९८ जनाले वृद्धि भएको उनले बताए ।

बैतडी, दार्चुला, बझाङ, अछाम, डडेलधुरा, बाजुरा र डोटीमा आव ०८०–८१ मा २ हजार ५ सय ६३ जना र गत आवमा ४ हजार ६१ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको निर्देशनालयको तथ्यांक छ ।

कैलाली, कञ्चनपुरमा भने स्क्रब टाइफसका बिरामीको संख्या घट्दो दरमा छ । यी दुई जिल्लामा आव ०८०–८१ को भन्दा गत आव (०८१–८२) मा २ सय ९५ जना बिरामी घटेको छ । यी दुई जिल्लामा आव ०८०–८१ मा १ हजार १ सय ८३ जना र गत आवमा घटेर ८ सय ८८ जना मात्र रोग देखिएको तथ्यांक छ ।

पहाडी सबै जिल्लामा प्रत्येक वर्ष स्क्रब टाइफसका बिरामी बढ्दै गइरहेको तथ्यांक छ । दुई वर्षमा पहाडी जिल्ला डडेलधुरा र अछाममा सबैभन्दा बढी व्यक्तिमा यो संक्रमण देखिएको छ । आव ०८०–८१ मा डडेलधुरामा ६ सय १५ जना र अछाममा ४ सय ४६ जना रहेकोमा यो संख्यामा गत आवमा वृद्धि भएर डडेलधुरामा १ हजार ३ सय ३९ जना र अछाममा १ हजार ८९ जनामा संक्रमण भेटिएको निर्देशनलायले दिएको तथ्यांकमा उल्लेख छ । यो संख्या अरू जिल्लाको तुलनामा धेरै हो ।

यस्तै आव ०८०–८१ मा दार्चुलामा २ सय ७७ जना, बझाङमा ३ सय ४३ जना, बैतडीमा २ सय ३१ जना, डोटीमा ६ सय १२ जना र बाजुरामा ३९ जनामा संक्रमण देखिएको हो । गत आवमा दार्चुलमा २ सय १५ जना र बैतडीमा १ सय ३६ जनामा संक्रमण देखिएको छ । यी दुई जिल्लामा गत आवमा केही मात्रमा घटेको देखिन्छ भने अरू जिल्लामा बढेको छ । बझाङमा ३ सय ६७ जना, बाजुरामा ५६ जना र डोटीमा ८ सय ५९ जनामा संक्रमण देखिएको थियो । यो तथ्यांकले तराईको भन्दा पहाडी जिल्लामा स्क्रब टाइफस संक्रमणको दर बढेको प्रमाणित गर्दछ ।

यो रोगको समयमै उपचार गर्नसके मृत्यु हुने सम्भावना धेरै कम हुने स्वास्थ्यकर्मी बताउँछन् । सामान्यतः लक्षण टाइफाइडको जस्तो देखिए पनि स्क्रब टाइफसको समयमा उपचार हुन नसके यसले मानिसको ज्यान पनि लिन सक्ने जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए । ‘यसले मिर्गौला, मस्तिष्क, फोक्सो, कलेजोमा संक्रमण हुने हुँदा समयमै उपचार नगरे बिरामीलाई बचाउन पनि गाह्रो हुन्छ,’ डा. विकले भने ।

टोकेको ठाउँमा संक्रमण भएपछि शरीरका विभिन्न भागमा बिमिरा देखिने, ज्वरो आउने, शरीरका विभिन्न भाग दुख्नेलगायतका लक्षणहरू देखिने गरेको डा. विकले बताए । ज्वरोलाई सामान्य रुपमा नलिन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले झाडी, खेतबारी, वनजंगलमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने, झाडी अथवा चौरमा बस्दा केही ओछ्याएर बस्नुपर्ने बताए ।

व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा किर्ना नियन्त्रण गरे यस रोगबाट बच्न सकिने स्वास्थ्य
निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

समयसीमा अपडेट