धनगढी– एक जना कैदीको ज्यान जाने गरी कैलाली कारागारमा भएको हिंसात्मक घटनापछि गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित छानबिन समितिले मङ्गलबार जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाएको हो ।
गत श्रावण २३ गते राति कैदीबन्दीबिच हिंसात्मक झडपपछि बसेको सुरक्षा समितिको बैठकले पाँच सदस्यीय छानबिन समिति गठन गरीएको थियो ।
घटनाको बारेमा छानबिन गरेर समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
“घाइतेको आरोप, आरोपितको बयान र सिसी टिभी फुटेजबाट दोषी पत्ता लगाउन सकिएन”, जोशीले भने,“केही प्राविधिक कुरा छन् । जुन हाम्रो समितिले छानबिन गर्न सकेन । त्यसको छानबिनका लागि विशेषज्ञसहितको उच्च स्तरीय छानबिन समिति गठनका लागि सिफारिस गरेका छौं ।”
जोशीका अनुसार कारागारबाट प्राप्त सिसी टिभी फुटेजमा केही व्यक्तिले कुटपिट गरिरहेको देखिए पनि दृश्य सफा नभएका कारण छानबिन समितिले दोषी यकिन गर्न सकेन ।
कैदीबन्दीबिच भएको दोहोरो झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदीबन्दी घाइते भएका थिए ।


