महेन्द्रनगर– आईतबार दिउँसो नुहाउने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिका अझैं फेला परेका छैनन । उनीहरुको खोजी कार्य आज तेस्रो दिन पनि जारी छ ।
आईबार दिउँसो करिब २ बजे भीमदत्त नगरपालिका–११ भुजेलास्थित जनता आधारभूत बिद्यालय नजिकै महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका थिए ।
दुई बालिका बगेको खबर पाएलगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजतलास थाले पनि अहिलेसम्म ती बालिकाहरुको अवस्था पत्ता लाग्न नसकेको जिल्ला पहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले समयसीमासंग बताए ।
डीएसपी बोहराका अनुसार नेपालतर्फ पर्ने महाकाली नदीको लगभग सबै स्थानमा खोजतलास गरिएको छ ।
भीमदत्त नगरपालिका–११ का मुकेश पन्तकी ७ बर्षीया छोरी सानवी र उनकै ७ बर्षीया भतिजी जीविका नदिमा बगेर बेपत्ता भएका हुन ।
बेपत्ता बालिकाहरुको घर महाकाली नदी किनारबाट करिब पाँच सय मिटरको दूरीमा पर्छ । दुबै बालिका जनता आधारभूत विद्यालयमा अध्ययनरत थिए ।