काठमाडौ– गृहमन्त्री रमेश लेखकले बहुविवाह सम्बन्धी कानून बारे सरकारले विधेयक समितिबाट संशोधन र परिमार्जन गरी अघि बढ्ने बताएका छन ।
गृहमन्त्री लेखकले बहुविवाह सम्बन्धी कानूनबारे आम नागरिकको चासो रहेको भन्दै त्यसलाई विधेयक समितिले सम्बोधन गरेर कानूनलाई परिमार्जन गरिने बताए हुन । कानून मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने मन्त्री लेखकले बताए ।
सिंहदरबारमा आज (मंगलवार) बसेको मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह समेत गरे । मन्त्री लेखकले विधेयक समितिसँग मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून गरी पाँच वटा विधेयकमा संशोधनको प्रस्ताव आएको बताए ।
बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संविधानकै व्यवस्था, कुनै पनि सजायको माफी, मुल्तवी अथवा दण्ड सजायको परिवर्तनसम्बन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको उनको भनाई छ ।
बैठकले बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले विधेयक समितिमै उपसमिति बनाएर समस्या समाधान गर्नेगरी अघि बढ्ने निर्णय भएको मन्त्री लेखकले जानकारी दिए ।