back to top
आईतवार, २०८२ भाद्र १ गते

विपतमा परी सुदूरपश्चिममा ४० जनाले गुमाए ज्यान

विपतमा परी सुदूरपश्चिममा ४० जनाले गुमाए ज्यान

प्रकाशित:

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् ।  आर्थिक वर्ष ०८१–८२ मा १९ पुरुष र २१ जना महिलाले विपतका घटनामा ज्यान गुमाएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङदबाट सबैभन्दा बढी ११ जनाले ज्यान गुमाएका छन । त्यस्तै बाढी र पहिरोमा परी १३ जनाले ज्यान गुमाए भने जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एक लगायत अन्य घटनामा ८ जनाको ज्यान गएको जनाइएको छ  ।

यस अवधिमा ८८ पुरुष र १ सय ११ महिला गरी १ सय ९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७ सय ९७ वटा विपतका घटना भएका थिए । घटनामा दुई हजार ३ सय ८० परिवार प्रभावित भएका छन् ।

यसै गरी १ सय ७२ घरमा आंशिक र १ सय ७ घरमा पूर्ण क्षति भएको जनाइएको छ । विपतका घटनाबाट १ सय १ गोठ र ४ सय ८२ चौपायाको क्षति भएको बुलेटिनमा उल्लेख छ । विपतका घटनाका कारण वर्षभरिमा ३७ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

यसैबिच प्रदेशवासीलाई मनसुनजन्य विपतबाट जोगाउन र हुन सक्ने क्षति न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश विपत प्रतिकार्ययोजना तयार पारेको छ  । मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गरेर तयार भएको र समितिबाट पारित हुन मात्रै बाँकी रहेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपतबाट दुई लाख २७ हजार ७ सय ३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ  । यसै गरी ४२ हजार १ सय १२ घरधुरी प्रभावित हुने जनाइएको छ  ।

समयसीमा अपडेट