महेन्द्रनगर– सुदूरपश्चिमका पहाडी जिल्लामा रैथाने मुख्य खाद्यान्न बाली बर्षेनी हराउदै गएका छन । पहाडी क्षेत्रमा मुख्य खाद्यान्न बालीका रुपमा लगाईने धान, गहुँ, मकै, कोदोसँगै फापर उत्पादनमा कमी आउदै गएको छ । धान, गहुँ, मकै, कोदो जत्तीकै दलहन खेती पनि पहाडी भेगको प्रमुख बाली हो । गहत, भटमास, मास, मुसुरो, बोडी, गुराँस, सोट्टा लगायतका दलहन बाली पनि अहिले यहाँका खेतमा हराउदै गएका छन ।
डडेल्धुरा, बैतडी, बझाङ्ग लगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा कुनै बेला औधै खेती हुने यी रैथाने बाली किसानले लगाउन छोड्दै गएका छन् । यी सबै खाद्यान्न र दलहन बालीको बिउ स्थानीयस्तरमा उत्पादन छैन, सबै आयात गर्नुपर्ने बाध्यता छ । त्यसले पनि किसानको आकर्षण घटेको स्थानीयको भनाई छ ।
केहि समययता बँदेल, बाँदर लगायतका जङ्गली जनावर गाउँघरमै पुग्र्ने गरेका छन । जङ्गली जनावरले खेती नोक्सान गर्ने क्रम पनि उत्तीकै छ । बढ्दो बसाइसराइ, परम्परागत रूपमै खेतीपाती, अन्न, बिउ भण्डारण र बिउ उत्पादन केन्द्र स्थापना नहुँदा बिउमा परनिर्भरता चुलिएको छ ।
डडेलधुराको अमरगढी नगरपालिका–७ मा डेढ दशकअघि नै बिउ बैङ्क स्थापना गरिएको थियो । उक्त बिउ बैङ्कले पूर्वको झापासम्म यहाँ उत्पादन भएको बिउ केहि समय निर्यात पनि ग¥यो । तर, मुलुक संघिय व्यवस्थामा गएसंगै बिउ बैँक थन्कियो । अमरगढी नगरपालिका–७ का वडाध्यक्ष तथा तत्कालीन बिउ बैँक सञ्चालक खडक बोहोराले नियमित संचालनमा लागि कहिकतैबाट सहयोग नपाएपछि बिउ बैँक बन्द भएको बताए ।
यहाँका अधिकाँस स्थानीय तहले कृषिमा जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धन गर्ने भन्दै बनाएका योजना कागजमै सिमित भएका छन । रैथाने बाली संरक्षणका लागि भन्दै स्थानीय तहले बर्षेनी लाखौ खर्च गर्दै आएका छन । तर, स्थानीय खाद्य प्रणाली मजबुत बन्दै जानुको साटो खस्किदै गएको छ ।