महेन्द्रनगर– निवर्तवान गृहमन्त्री रमेश लेखक सोमबार साँझ धनगढी विमानस्थल पुगे । स्थान हद पछि पहिलो पटक गृह नगर आउँन लागेका लेखकलाई स्वागतका लागि काँग्रेस नेता, कार्यकर्ता र समर्थकको दिउँसादेखि नै विमानस्थलमा भिड जम्मा भएको थियो ।
निवर्तवान गृहमन्त्री लेखक विमानस्थलको आन्तरिक कक्षबाट बाहिर आएपछि एकाएक रमेश लेखक जिन्दावाद, नेपाली काँग्रेस जिन्दावाद भन्दै नारा लाग्न थाले । नारा गुञ्जिँदै जान थालेपछि लेखकको अनुहार मलिन बन्यो, उनी भावुक देखिए ।
लेखकको स्वागतमा सहभागि भएका विमानस्थलमा नाराबाजीले लेखक भावुक देखिएको बताए ।
‘विमानस्थलमा सयौको भीडले एक साथ नारा लगायो, नारा निरन्तर गुञ्जि रह्यो, त्यसले वहाँ(लेखक) भावुक देखिनु भो’ स्वागतमा सहभागि सुरेश खड्काले भने ।
लेखक गृहमन्त्री हुदाँ गत भदौं २१ गते महेन्द्रनगर आएका थिए । त्यसपछि पहिलो पटक उनी सोमबार गृह जिल्ला आएका हुन् ।
जेन जी आन्दोलनपछि सरकारले उनलाई उपत्यका बाहिर जान नदिने गरी स्थान हद लगाएको थियो । स्थान हदले जिल्ला आउन नसकेका लेखक सोमबार आएका हुन् ।
लेखक सोमबार आउन लागेको खबर यसअघि सार्वजनिक भएको थियो । लेखकलाई स्वागत गर्न कञ्चनपुरका सबै क्षेत्रका नेता कार्यकर्ता धनगढी विमानस्थल पुगेका छन् ।
प्रेस युनियनका सचिव देबेन्द्र खड्काका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेस कञ्चनपुर ३ का उम्मेदवार हरि प्रसाद बोहरा, जिल्ला सभापति पदम बोगटी लगायत जिल्ला पदाधिकारी, नेता कार्यकर्ता धनगढी पुगेका छन् ।
धनगढी विमानस्थलबाट महेन्द्रनगर पुगेका उनले देश विषम परिस्थितिमा भएकोले चुनाव हुन लागेको र त्यसका लागि कञ्चनपुर ३ मा हरि प्रसाद बोहरा उम्मेदवार भएकाले जिताउन सबै लाग्नु पर्ने बताए ।
लेखक २०५६ देखि चुनाव जित्दै आएको क्षेत्रमा यस पटक काँग्रेसका पूर्व जिल्ला सभापति बोहरा उम्मेदवार भएका छन् ।
लेखक पक्षका उनी पछिल्लो पटक काँग्रेस विशेष महाधिवेशनमा सहभागी भएका थिए । त्यसपछि उनी कञ्चनपुर ३ को उम्मेदवार भएका हुन् ।
कञ्चनपुर ३ बाट लेखक, शंकर चन्द र प्रेम बिष्ट उम्मेदवारका लागि सिफारिश भएका थिए । लेखकले टिकट नपाएपछि निर्वाचन आयोगले मान्यता दिएको केन्द्रिय कार्यसमितिले हरि प्रसाद बोहोरालाई उम्मेदवारी बनाएको थियो ।
महेन्द्रनगर पुगेपछि लेखकले निवासमा नेता कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीति मंगलबारदेखि छलफल सुरु गर्ने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सभापति केशव चन्दले जानकारी दिए ।
निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले लोकतन्त्र जोखिममा रहेकाले सबै मिलेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।
‘संविधान लिकबाट बाहिर भएको छ । लोकतन्त्र जोखिममा छ,’ लेखकले भने, ‘देश अप्ठ्यारो अवस्थामा छ । यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ ।’ देशको अवस्था सामान्य नभएकाले संविधानको रक्षाका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो ।


