महेन्द्रनगर– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन शाान्तिपूर्ण हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका उमेदवारले आशंका ब्यक्त गरेका छन् ।
बुधबार साँझ सदरमुकाम महेन्द्रनगरस्थित होटल ओपेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका उमेदवारहरुले सो कुरा बताएका हुन ।
गत भदौ २४ गतेको जेनजी आन्दोलमा लुटिएका हतियार र फरार कैदीबन्दीका कारण चुनाव हुनेमा शंका गर्नुपर्ने अवस्था कायमै रहेको क्षेत्र नम्बर ३ का उमेदवार पूर्णबहादुर चन्दले बताए ।
‘उम्मेदवारी दर्ता गरी चुनावी प्रक्रियामा होमि सकेका छौ, तर अझै चुनावी वातावरण ठिक छैन, शान्ति पूर्ण रुपमा चुनाव हुनेमा अझै शंकामा छौ’ पत्रकार सम्मेलनमा उनले भने ।
जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ नहुनु र लुटिएका हात हतियार फिर्ता नहुदाँ चुनाव शान्तिपूर्ण हुन्छ भन्नेमा गम्भीर प्रश्न रहेको चन्दले बताए ।
‘अहिले जनाताले खोजेको प्रदेश संरचना हटाउँन राप्रपाका उम्मेदवारीलाई जिताउनुको बिकल्प छैन ।’ उनले भने‘मुलुकमा बढ्दै गएको बिदेशी हस्तक्षेप अन्त्यका गर्न राजा सहितको राज्य आवश्यक छ ।’
वर्षौदेखि सत्तामा बसेका दलप्रति जनताको निरासा र असन्तुष्ट चुलिएको भन्दै नयाँ राष्ट्रिय शक्तिका रुपमा यस पटक राप्रपा उदाउने चन्दले दाबी गरे ।
कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार तिर्जराज चटौतले आफू निर्वाचित भएर राज्यबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले कञ्चनपुर २ मा जनताले यस पटक परिवर्तन चाहेकाले आफ्नो पक्षमा चुनावी वातावरण भएको उल्लेख गरे ।
‘अहिले त्यहाँ म जाँदा जनमत परिवर्तनको पक्षमा देखेको छु । माहौल मेरो पक्षमा छ, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ मैले जिते राज्यका कुनै सेवा सुविधा लिँदैन, यो आजै घोषणा गर्छु ।’
चटौत बहुदल आएपछि २०४९ सालको निर्वाचनमा भीमदत्त नगरपालिका ४ नम्बर वडाको अध्यक्ष निर्वाचित भएका थिए । त्यस अघि उनी २०४३ सालमा तत्कालिन जिल्ला पञ्यायतको उप सभापति निर्वाचित भएका थिए । चटौतले पार्टीले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकाले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा होमिएको उल्लेख गरे ।
राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतका नेता पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।


