महेन्द्रनगर– कञ्चनपुर उद्योग बाणिज्य संघको पुस १९ गते हुने १८ औं कार्यकारिणी समिति निर्वाचनका लागि गत मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु भईसकेको छ ।
संघले वरिष्ठ अधिवक्ता पूर्णबहादुर चन्दको नेतृत्वमा गठन गरेको निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेसंगै निर्वाचन कार्यक्रम अघि बढेको हो ।
निर्वाचन कार्यक्रम अनुसार बुधवार मतदाता नामावली माथी दावी बिरोधको समयाधि सकिएसंगै बिहिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले बताए ।
निर्वाचन कार्यक्रम अनुसार पुस १२ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम तेकिएको छ । निर्वाचन तालिका सार्वजनिक भएपछि पदाधिकारी र सदस्यका आकाँक्षीहरु आन्तरिक तयारीमा लागेका छन् ।
नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल र पूर्व उद्योग उपाध्यक्ष हेमराज जोशी आकाँक्षी देखिएका छन् । नेतृत्वका लागि दुबै जना आन्तरिक तयारीमा छन् । मल्ल र जोशी अध्यक्षका उमेदवार बन्ने तय भएसंगै दुई प्यानल बिच प्रतिसप्रधा हुने माहोल देखिएको मतदाताहरुको भनाई छ । मनोनयनको समय नजिकिदै जाँदा अध्यक्षका आकाँक्षी मल्ल र जोशी प्यानल बनाउँने बिषयमा हतारमा देखिएका छैनन् । पदाधिकारीमा आकाँक्षी धेरै हुदाँ मल्ल र जोशी दुवै दवाबमा छन् ।
संघका बाणिज्य उपाध्यक्ष धर्मसिह रावल, पूर्व महासचिव दिपेन्द्र प्रकाश साउँद र तेजबहादुर चन्द वरिष्ठ उपाध्यक्षमा आकाँक्षी छन् । उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग र खगेश्वर बोहोरा छन् । बाणिज्य उपाध्यक्षमा गणेश चटौत र हेमराज भट्ट देखिएका छन् ।
संघका सचिव राहुल भट्ट, पूर्व महासचिव बाशुदेव जोशी (बिनोद) र निर्मला सापकोटा भट्ट महासचिवमा चुनाव लड्ने तयारीमा छन् । कार्यसमिति सदस्य बिशाल सोनाम, यज्ञराज भट्ट र एनपी जोशी सचिवका आकाँक्षी छन् । संघका सदस्य प्रदिप पाल, मनोज भट्ट र पूर्व कार्यसमिति सदस्य सिद्धराज भट्ट कोषाध्यक्षमा चुनाव लड्ने तयारीमा छन् ।
संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १, कार्यसमिति सदस्य ७ र संस्थागत सदस्य १ छन् ।
निर्वाचन कार्यक्रम अनुसार पुस १२ गते मनोनयन दर्ता र १९ गते मतदान हुने तालिका छ । संघमा दुई हजार एक सय २१ मतदाता छन् ।


