महेन्द्रनगर– निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन,’ उक्त आन्दोलनपछि पहिलोपटक मिडियामा सार्वजनिक भएका लेखकले भने ।
लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए ।
‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ लेखकले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’
मातृ शोकपछि भर्खर बाहिर निस्किएका निवर्तमान गृहमन्त्री लेखकले पत्रकारसँग कुराकानी गर्दै पहिलो दिनको घटनामै आफूलाई ठुलो पीडा भएकाले तत्कालै राजीनामा दिएको पनि बताए ।


