back to top
शुक्रबार, २०८२ आश्विन १० गते

समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने भुमिका खेल्न राष्ट्रपतिको आह्वान

समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने भुमिका खेल्न राष्ट्रपतिको आह्वान

प्रकाशित:

काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न संककटबाट मुलुकलाई निकास दिएको बताए ।

राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसंग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढंगबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरे ।

उनले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।

उनले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गरे ।

राष्ट्रपति पौडेलले हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ भनी संविधान दिवसको दिनमा सबैलाई सङ्कल्प गर्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एकपटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए ।

राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले आजको सुशासन, बेथितिको अन्त्य, रोजगारी सृजना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सकेमात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव भएको भन्दै जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन गरी सुध्रिएर अघि बढ्न आग्रह गरे ।

समयसीमा अपडेट