पुष्कर भट्ट, महेन्द्रनगर– रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरु दशै नजिकिदै जाँदा पश्चिमी नाका गडडाचौकी हुँदै घर फर्कन थालेका छन् । झिटीगुण्टा बोकेर स्वादेश फर्किरहेका नेपालीहरुको लर्कोले पश्चिमी सीमानाकामा रौनक छाएको छ ।
रोजगारीका लागि भारतका बिभिन्न शहर पुगेका सयौ नेपाली कामदार घटस्थापनाको एक साता अघिदेखि नै पश्चिमी नाका गडडाचौकी हुँदै दशैं मनाउन घर फर्कन थालेका हुन् ।

यसरी घर फर्कनेहरु अधिकांस दुई तीन महिनाको पटके काम तथा बर्षौदेखि भारतमै बसोवास गर्ने नेपाली छन् । चाडपर्वका बेला घर फर्कने नेपालीलाई भारतीय सुरक्षाकर्मीले चेकजाँचको बहानामा दुख दिने गरेको स्वदेश फर्किने नेपालीले गुनासो गरेका छन् ।
उनीहरुका अनुसार नाकामा रकम असुली गर्ने, कुटपिट तथा दुब्र्यवहार गर्ने क्रम अहिले घटेको छ । भारतीय शहर बनबासादेखि गड्डाचौकीसम्म चल्ने अटो रिक्साले मनपरी भाडा लिने गरेको रोजगारी गरी फर्किने नेपालीको भनाई छ । उनीहरुबाट नेपालतर्फ समेत सवारी साधनले मनपरी भाडा असुल्ने गरेका छन ।

गड्डाचौकी नाका कामको खोजीमा भारत पस्ने सवैभन्दा पायक पर्ने मार्गस्थल मानिन्छ । त्यसैले सुदुर र कर्णाली प्रदेशका सयौं युवाहरु वर्षेनि यो नाका भएर रोजगारीका लागि भारत जाने गर्छन् । उनीहरु दशै तिहारसंगै चाड पर्व मनाउन र खेतिपाती भित्र्यााउने समयमा भने घर फर्कने गर्छन् ।