महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनीका बासिन्दा तटबन्धकाे माग गर्दै बिरोध प्रदर्शनमा उत्रेका छन ।
दोधारा–चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रका बासिन्दा जोगबुडा नदीमा स्थायी तटबन्धको माग गर्दै बिरोध प्रदर्शनमा उत्रेका हुन ।
तटबन्धको उचित ब्यवस्था नभएकै कारण आफुहरु बर्षेनी बाढीपिडित हुनु परेको भन्दै अब राहत हैन, स्थायी तटबन्ध बनाउन माग गर्दै बिहिबार नगरपालिका कार्यालय परिसरमा बाढीपिडितहरुले बिरोध प्रदर्शन गरेका हुन । उनीहरुले राहत स्वरुप पाएको चामल, दल, तेल लगायतका खाद्य सामाग्री समेत बोकेर प्रदर्शन गरेका थिए ।
जनप्रतिनिधिहरुले स्थायी तटबन्ध निर्माण गर्न चासो नदेखाएकै कारण दोधारा–चाँदनीका पश्चिम तर्फका वडामा बाढीको समस्या बढ्दै गएको बाढीपिडितहरुले गुनासो गरेका छन । नगरपालिकाले केहि ठाउँमा ग्राभेल मात्र थुपेर झारा टार्ने काम गरेको उनीहरुको भनाई छ । जोगबुडा नदीमा बलियो तटबन्ध कतै छैन ।

गत सोमबार जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनीका ३, ७, ८ र १० नम्बर वडाका दर्जनौ घरपरिवार डुवानमा परेका थिए । घरखेत डुवानमा परेपछि विस्थापित भएका त्यहाँका कतिपय बासिन्दा अझै घर फर्कन सकेका छैनन । उनीहरु चार दिनदेखी विद्यालयको आश्रयमा छन । नगरपालिकाको पहलमा केहि संघसस्थाले उनीहरुको खानेबस्ने ब्यवस्था मिलाएको छ ।
कालीपारी दोधारा–चाँदनीका बासिन्दाले बर्षायाममा मात्र होईन हिउँदमा पनि बाढीको पिडा खेप्दै आएका छन । भारतले सिचाईका लागि महाकाली नदिबाट लगेकोे पानी जोगबुढा नदीमा निकासी गर्ने गरेका कारण हिउँदमा पनि खेतियोग्य जमिन कटानको समस्या यहाँका बासिन्दाले बेहोर्दै आएका छन ।
पूर्वमा महाकाली पश्चिमतर्फ जोगबुडा नदीको बिचमा रहेको दोधारा–चाँदनीका बासिन्दाले हरेक बर्ष बाढीको पिडा खेप्नु पर्ने बाध्यता छ ।