महेन्द्रनगर– तिन दिनअघि बाढी बस्तीमा पसेपछि डुबानमा परेका कञ्चनपुरको काली पारीका बासिन्दा घर फर्किन थालेका छन ।
अविरल वर्षाका कारण बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएर बसेका दोधारा–चाँदनीका बासिन्दा घर फर्किन थालेका हुन ।
जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनी नगरपालिकाको पूर्वी क्षेत्रका ३, ७, ८, र १० नम्बर वडाका बस्ती डुवानमा परेका थिए । बाढी गाउँमा पसेपछि त्यहाँ करिब सय परिवार भन्दा बढी विस्थापित भएका थिए । घरखेत डुबानमा परेपछि उनीहरु गत सोमबारदेखी बिभिन्न स्थानीय विद्यालयमा बस्दै आएका छन ।
बर्षा रोकिएसंगै बस्तीमा पसेको पानी घट्दै गएपछि विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नम्बर–३ मा पर्ने पटरा खल्लाका विस्थापित भने घर फर्किन नसकेको बताए । उनका अनुसार घर भित्र हिलो भरीएका कारण पटराका बासिन्दा बिद्यालयमै बसेका छन ।
जोगबुडा नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरीको कञ्जभोज र सुन्दरनगरमा रहेका बिओपी समेत डुबानमा परेका थिए ।