महेन्द्रनगर– महाकाली नदीमा सोमबार यस बर्षकै उच्च बहाव मापन गरीएको छ । सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर सहित पहाडी र उच्च पहाडी क्षेत्रमा तिन दिनदेखी लगातार परेको बर्षापछि महाकाली नदीमा सोमबार दिउँसो यो बर्षकै उच्च बहाव मापन गरीएको हो ।
दुई साताअघि एक लाख ६८ हजार क्यूसेकसम्म पुगेको महाकालीको बहाव सोमबार भने एक्कासी दुई लाख भन्दा माथी पुग्यो ।
नेपाल–भारत सीमानाको बनबासास्थित सारदा ब्यारेजमा गरिएको मापन अनुसार दुई लाख ३ हजार ८ सय तीस क्यूसेक पानीको बहाव रहेको थियो । यो अहिलेको बर्खायामको उच्च बहाव हो ।
अंग्रेजका पालामा बनेको सारदा ब्यारेज सय बर्ष पुरानो भईसकेका कारण पुलको सुरक्षार्थ भन्दै भारतीय पक्षले एक लाख बहाव पग्नासाथ ब्यारेजका धेरैजसो ढोका खोल्दै आएको छ । उसले त्यस समयमा ठुला सवारीसाधन गुड्न पनि रोक्छ ।

सन् १८६२ मा संचालनमा आएको करिब ५ सय मिटर लामो ब्यारेजमा करिब दुई दर्जन भन्दा बढी ढोका छन । ब्यारेजमा पानीको बहाव सर्तकता बिन्दुमा पुग्नासाथ पुलका सबै ढोका खोल्दै पानीको कुल बहाव नेपालतर्फ छाड्ने गरेको छ । जसका कारण नेपाली तटिय क्षेत्रमा बर्षेनी क्षेती हुने गरेको छ ।
सोमबार बिहानैदेखी पानीको बहाव निरन्तर बढ्न थालेसंगै सबै पानी नेपालतर्फ छाडेको थियो ।
नेपालतर्फ महाकाली नदीमा निर्माण भएको चारलेनको आठ सय मिटर लामो पुलमा पानी ७ मिटर उचाई पुगे खतराको संंकेत मानिएको छ । सोमबार करिब ६ मिटरसम्म बहाव पुगेको थियो ।
गतबर्ष असारमा ४ लाख ६० हजार पानीको बहाव नाघेपछि चारलेन पुलको गाईडबण्ड महाकालीले बगाएको थियो ।


