महेन्द्रनगर– सुदुरपश्चिमेलीले दशैभन्दा महत्व दिएर मनाउने गौरापर्वले गाउँघरमा रौनक छाएको छ ।
गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।
अविवाहिताले राम्रो पति पाउँन र विवाहित महिलाले पतिको दिर्घायुको कामनाका लागि गौरा पर्व मनाउने गरीन्छ । पौराणिक कालमा पार्वतीद्वारा शिवजीलाई पति पाऊन व्रत वसेको धार्मीक आख्यानसंग गौरा पर्वको महत्व जोडिएको छ ।
चारदिन सम्म बिभिन्न मठ मन्दिरमा पुजाआरधना र डेउडा खेलेर गौरा पर्व मनाईन्छ । गौरा पर्व अवधिभर पुरुष तथा महिलाहरुले बिभिन्न सार्वजनिक स्थानमा डेउडा, ठाडो खेल, ढुस्को लगायतका खेल खेलेर मनाउने पनि गरिन्छ ।
मास, गहत, गुरास, केराऊ, र गहु मिसाई वनाएको पञ्च अनाजलाई परिवारका सदस्य र आफन्तजनले एक अर्काको पुजा गर्दै आशिर्वाद दिएर बिधिवत रुपमा गौरा सकिन्छ ।
दशै जत्तिक्कै महत्व दिएर मनाईने गौरा सुदुरपश्चिमका ९ बटै जिल्लामा हर्षोल्लासपुर्बक मनाउने गरिन्छ । कर्णालीका केहि भाग र भारतको कुमाउ, गढवाल क्षेत्रमा समेत गौरा पर्व मनाउने गरिन्छ । गौरा मनाउँन देश बिदेश गएकाहरु यतिबेला घर फर्किने गर्छन ।
गौरापर्वको अवसरमा सुदूरपश्चिम सरकारले दुईदिन आईबार र सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।