back to top
मंगलवार, २०८२ आश्विन ७ गते

कञ्चनपुर बर्ड फ्लु संक्रमणको उच्च जोखिममा, भारतबाट पन्छीजन्य सामाग्री आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रशासनको निर्णय

कञ्चनपुर बर्ड फ्लु संक्रमणको उच्च जोखिममा, भारतबाट पन्छीजन्य सामाग्री आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रशासनको निर्णय

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खड्काले बताए ।

कार्यालय प्रमुख खड्काका अनुसार बैठकबाट तीन ओटा निर्णय गरिएका छन् । भारतबाट पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध लगाउने पहिलो निर्णय गरिएको प्रमुख खड्काले बताए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिले संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने र किसानहरुलाई सचेतना फैलाउने निर्णय गरेको छ ।

बैठकले सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, आपूर्तिकर्ता, व्यापारी र किसानसंग बर्ड फ्लु रोग सम्बन्धि सचेतना फैलाउनका लागि अन्र्तक्रिया गर्ने निर्णय पनि गरेको छ ।

जिल्लास्थित सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिले बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि आकस्मिक अनुगमन गरी पन्छीजन्य सामाग्री आयातमा कडाईका साथ नियमन गर्न सक्ने निर्णय समेत गरिएको छ ।

कार्यालय प्रमुख खड्काले समितिको बैठकपछि औपचारिक रुपमा बर्ड फ्लु नियन्त्रणको प्रयास थालिएको बताए । ‘भारतमा देखिएपछि कार्यालयले आफ्नो हिसाबले बर्ड फ्लु नियन्त्रणका लागि प्रयास गरि रहेको थियो, अब औपचारिक रुपमा सुरुवात भो’ उनले भने, ‘उच्च सतर्कतामा रहनै पर्ने अवस्था छ, संक्रमण फैलिएको क्षेत्रबाट हामी नजिक भएकाले जोखिममा छौ, त्यसैले संवेदनशिल हुन जरुरी छ ।’

समयसीमा अपडेट