महेन्द्रनगर । भारतीय सीमावर्ती सहरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए ।
उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने चिन्ता खडकाले गरे । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अति नै संवेदशिल छ, जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सबैले संवेदनशिल बन्न आवश्यक छ’ उनले भने ।
कार्यालय प्रमुख खड्का अनुसार संक्रमित कुखुरा, कुखुराले खाना खाना, खुवाउने भाँडाकुँडा, बसाइसराई गर्ने चराचुरुङ्गीबाट बर्ड फ्लु आउन सक्ने उच्च जोखिम भएको बताए । ‘बसाई सराई गर्ने चराचुरुङ्गीबाट समेत आएर ठूलो क्षति हुन सक्छ, यसका लागि सचेतना अपनाएर मात्रै न्यूनीकरण गर्न सकिन्छ’ उनले भने ।

कार्यालयले सीमावर्ती क्षेत्रबाट कुखुरा सहित कुखुराजन्य पदार्थ लगायतका सबै ओसारपासरमा नियन्त्रणका लागि सबैलाई आग्रह गरेको उनले बताए ।
‘त्यसका लागि हामीले जनचेतना फैलाउने कार्य गरि रहेका छौ’ कार्यालय प्रमुख खड्काले भने ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु समितिको बैठक बस्ने तयारी गरिएको छ । बैठकले रोकथामका लागि ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।
कञ्चनपुरको ब्रह्मदेबदेखि डोकेबजार सम्म भारतसित खुला सीमा छ । विज्ञ केन्द्रले प्रशासन कार्यालयसित पनि नियन्त्रणका लागि समन्वय गरेको छ ।
‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने ।