back to top
आईतवार, २०८२ भाद्र १ गते

मिसन ८४ एमाले बहुमत हासिल गर्ने अभियानमाः पूर्व मुख्यमन्त्री रावल

मिसन ८४ एमाले बहुमत हासिल गर्ने अभियानमाः पूर्व मुख्यमन्त्री रावल

प्रकाशित:

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए ।

‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’

सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे ।

अर्थतन्त्रमा सुधार आउँन थालेको, उत्पादन र उत्पादकत्व बढेको ‘डुबी सकेको अर्थ व्यवस्थालाई पुर्नउत्थान गर्ने प्रयास भएको छ, अर्थतन्त्रका इन्डिकेटर ठाउँमा आउँदै छन्, बिगतमा ७ प्रतिशतको मुद्रास्फिती ३ दशमलव ५ प्रतिशतमा झरेको छ,’ उनले भने ।
पूर्व मुख्यमन्त्री रावलले देशमा लगानी मैत्री वातावरण बन्दै गएको दावी गरे ।

सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति लिएर अघि बढेको उल्लेख गर्दै उनले भ्रष्टाचार गर्नेमाथि कारवाही गरिने स्पष्ट पारे ।

एमाले विरुद्ध संगठित आन्दोलन हुन सक्ने समेत उनले आशंका व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी विरुद्ध छिटै पुनः अर्को विशाल संगठित आन्दोलन हुन सक्दछ, हामीले यी घटनाहरुको सामना गर्ने सार्मथ्य जुटाउनु आवश्यक छ, देश र पार्टी भित्रको अराजकताको अन्त आजको आवश्यकता हो’ उनले भने ।

पार्टीभित्र अराजकता नछाड्नेलाई कारवाही गरिने रावलले बताए ।

समयसीमा अपडेट