back to top
शनिबार, २०८२ श्रावण ३१ गते

तेस्रो पुस्तासम्म विस्थापित ! सपना बन्यो पुर्नस्थापना

आरक्ष विस्थापितको पुर्नस्थापना राजनैतिक दलका चुनावी नारा मात्र बने ।

तेस्रो पुस्तासम्म विस्थापित ! सपना बन्यो पुर्नस्थापना

आरक्ष विस्थापितको पुर्नस्थापना राजनैतिक दलका चुनावी नारा मात्र बने ।

प्रकाशित:

महेन्द्रनगर– अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्ने ढक्का शिविरमा बसोबास गर्नुअघि जयबहादुर रोकाया ३३ वर्षका थिए । अहिले उनको उमेरले ६० काट्यो । साविकको रौतेलीविचवा गाविस– ३ मा बसोबास गर्ने उनी तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भइ ढक्का शिविरमा पुगेका हुन् ।

विस्थापित हुदा उनका छोरा छोरीहरु सानै थिए । तिन छोरा र तिन छोरी मध्ये जेठो ज्ञान बहादुर १० वर्षका थिए । अरु सबै १० वर्ष मुनिका थिए । अहिले ज्ञान बहादुरकै छोरा छोरी ठुला भइसकेका छन् । ‘हाम्रो तेस्रो पुस्ता समेत पुर्नस्थापनाकै पर्खाइमा पुगेको छ,’ रोकायाले भने, ‘धेरै आयोग बने, आन्दोलन पनि धेरै भयो, तर हाम्रा लागि केही पनि नहुने भयो ।’

विस्थापित हुदा जयबहादुरको रौतेलीबिचवामा करिब ७ विघा जमिन थियो । सबै जमिनमा खेतीपाती हुन्थ्यो । घरपरिवार पाल्न कुनै समस्या थिएन । आरक्ष बिस्तारका क्रममा बिस्थापित भएपछि अहिले खान लाउन त के बस्ने समेत ठेगान छैन ।

’समस्या समाधानका लागि धेरै आयोग पनि बने, आयोगमा बस्नेले पनि केही दिन तलबभत्ता खाए, हाम्रा दिन उस्तै ।’ उनी तिन जना अन्य विस्थापित संगै काठमाण्डौं माईतीघर मण्डलामा १९ दिन अनसन बसेर हालै फर्किएका हुन् । रोकायासंगै विस्थापितहरु करन चन्द र प्रेम भट्ट अनसनमा बसेका थिए ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही सहित मन्त्रालयका सचिव र प्रतिनिधिसभा सदस्य एनपी साउँदसहितको टोली अनसन स्थलमै पुगेर समस्या समाधानका लागि आवश्यक काम गर्ने आश्वासन दिएपछि अनसन तोडिएको अनसनमै सहभागी भएका विस्थापित भट्टले बताए । उनका अनुसार मन्त्री शाहीले सर्वदलिय संयन्त्र बनाउने आशवासन दिएका थिए ।

तिन महिना बितिसक्दा पनि आशवासन अनुरुप काम नभएपछि रोकाया र अर्का बिस्थापित रणबहादुर सिंह महेन्द्रनगरको मदन चोकमा गत २२ गतेदेखी आमरण अनसनमा बसेका छन ।

पुर्नस्थापनाको माग गर्दै आमरण अनसनमा बसेका आरक्ष बिस्थापित जयबहादुर रोकाया(दायाँ) र रणबहादुर सिंह (बायाँ) । तस्वीर– समयसीमा

आरक्षबाट विस्थापितहरुले यसअघि पनि कयौं पटक सडक बन्ददेखि काठमाण्डौंमै अनसन लगायतका विरोधका काम गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगेर विरोध प्रदर्शन पनि गरिएका छन । शिविरमा पसेर जंगली हात्तीले बेलाबेला दुख दिने गरेको छ । हात्तीका आक्रमणमा परि ढक्का शिविरमा हालसम्म दुई जनाको मृत्यु समेत भइसकेको छ ।

ढक्का शिविरमा मात्रै ६ सय २ परिवारको बसोबास छ । यहाँ विभिन्न क्षेत्रबाट विस्थपित भएकाहरु आएर टहराहरु बनाएर बसोबास गर्ने गरेका छन । विस्थापित हुदाँ सुरुमा उनीहरु साविकको दैजी गाविस, झलारी गाविस लगायतका क्षेत्रमा बसोबास गर्थे । लामो समयसम्म पुर्नस्थापना नभएपछि उनीहरु निकुञ्जकै कोरा एरियामा बस्न थालेका हुन् ।

निकुञ्जको तारापुरमा १ सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास छ । यसबाहेक निकुञ्ज र वन क्षेत्र बाहिर गरी विभिन्न १४ वटा शिविरमा २४ सय ७३ विस्थापित परिवारको बसोबास रहेको छ ।

२०३३ मा तत्कालिन शाही शिकार आरक्षलाई शुक्लाफांटा वन्यजन्तु आरक्ष घोषणा गरेपछि पुर्वी क्षेत्र विस्तार गरिएको हो । २०५८ सम्म निकुञ्जको विस्तारित क्षेत्रहरुबाट वस्ती खाली गरिएको हो । २०३३ देखि सुरु भएको विस्थापितको समस्या अझै समाधान हुन सकेको छैन ।

पुर्नस्थापनाकै लागि गठन गरेका आयोगका नाममा थुप्रै खर्च पनि भइसकेको छ । तर विस्थापितको अवस्था भने जहाँको त्यहिँ छ । अहिले पनि विस्थापितहरु जंगलमै बसिरहेका छन् । उनीहरुको उचित पुर्नस्थापना गर्न नसक्दा विस्थापितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अझै पनि पुर्नस्थापनामा ध्यान नदिने हो भने यो समस्या झनै विकराल बन्दै जाने देखिएको छ ।

तत्कालिन आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरुको पुर्नस्थापनाका लागि २०३७ देखि आयोग तथा समितिहरु गठन हुन थालेका हुन् । हालसम्म ३२ वटा आयोगहरु गठन भइसकेका छन् । ३ महिनादेखि एक वर्षसम्म समयावधी दिएर गठन हुने आयोग तथा समितिहरुले विस्थािपतको एकिन संख्या अझै पहिचान गर्न सकेका छैनन् ।

१५० वर्गकिलोमिटर क्षेत्रफल रहेको आरक्षको पुर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर बनाइएको हो । २०७३ मा शुक्लाफाँटालाई आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरिएको थियाे ।

समयसीमा अपडेट