back to top
बुधबार, २०८२ श्रावण २८ गते

देशभर ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना, कुन प्रदेशमा कति !

देशभर ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना, कुन प्रदेशमा कति !

प्रकाशित:

काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले पछिल्लो एकबर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी धम्की–दुव्र्यवहारका घटनाहरू भएको उल्लेख छ । देशभर ४१ वटा धम्की–दुव्र्यवहारका घटना भएका छन । ‘आक्रमण–कुटपिटका घटना २२, पेसागत असुरक्षा १३, कब्जा–अवरोध ७, पक्राउ–पक्राउ प्रयासका घटना ७ रहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत बन्देजका २, पत्रकार हत्या १, जातीय विभेदका घटना १ रहेका छन् ।’ प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३८ घटना भएको काउन्सिलले जनाएको छ । मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा ८–८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएका विज्ञप्तिमा उल्लेख छ ।

लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको पाइएको छ । घटना ९४ वटा भएको भए पनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा समग्र पीडितको संख्या घटना‐संख्या भन्दा बढी देखिएको बताइएको छ ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बाग्मती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले पत्रकार आचारसंहिताका साथै प्रेस स्वतन्त्रताका सम्बन्धमा समेत नियमित अनुगमन गर्दै आएको छ ।

समयसीमा अपडेट