back to top
आईतवार, २०८२ श्रावण २५ गते

सम्झना मृत्यु प्रकरण : पवनकी दिदी पक्राउपछि शवकाे अन्त्येष्ठी

सम्झना मृत्यु प्रकरण : पवनकी दिदी पक्राउपछि शवकाे अन्त्येष्ठी

प्रकाशित:

महेनद्रनगर– कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट आफ्नै काेठामा झुण्डिएको अवस्थामा फेला परेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

उक्त प्रकरणको अनुसन्धानका लागि शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार पूजा पवनकी दिदी हुन् ।

मृतकका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एक अडियोमा सम्झनाको हत्या गर्न पूजाले पवनलाई सुझाव दिएको डीएसपी बोहराले बताए  । सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा यसअघि मृतकका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेकाहरुलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बोहराका अनुसार पूजालाइ नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन नहुने कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । पूजा पक्राउ परेपछि माइती पक्षले शव उठाएर अनितम संस्कार गरेका छन् ।

मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो । घटनामा संलग्न रहेको आशङ्कामा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिए पनि प्रहरीले पूजालाई पक्राउ गरेकाे थिएन ।

साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंहपाल टोलमा घरभित्र झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् ।

सम्झना र पवनले गत फागुनमा प्रेम विवाह गरेका थिए । विवाहपछि सम्झनाका श्रीमान् र उनका परिवारका सदस्यले दाइजोको निहुँमा यातना दिने, घरेलु हिंसा गर्ने र मानसिक तनाव दिने गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

समयसीमा अपडेट