काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको नतिजाभन्दा करिब ९ प्रतिशतको सुधार हो ।
गत वर्ष ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षा वोर्डको आज बसेको बैठकले सार्वजनिक गरेको नतिजा अनुसार ३८ दशमलव ८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।
ग्रेड वृद्धिको परीक्षा आगामी भदौ २८ र २९ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।
वैशाख ११ गतेदेखि तोकिएको परीक्षा शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित आन्दोलनका कारण २१ गतेदेखि सुरु भएको थियो । जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु भएको थियो । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।