दार्चुला– बिशेष गरी दार्चुलामा प्रमुख जात्राका रूपमा मनाइने सुर्माभवानी ‘बिरे जात्रा’ सुरु भएको छ । हरेक तेस्रो वर्षमा दार्चुला र बझाङ्ग जिल्लाको सिमानामा लाग्ने यस वर्षको ‘बिरे जात्रा’ श्रावण १८ गते (औसी) देखि सुरु भएको हो ।
स्थानीयका अनुसार औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेका छन । जात्राको विशेषता र मान्यता अनुसार जात्रामा सहभागी हुने पुरुष औँसीदेखि नै मासुजन्य पदार्थ छोडेर घरपरिवारको सम्पर्कबाट समेत छुट्टिएर देउघरमा बस्ने प्रचलन छ ।
यस वर्षको ‘बिरे जात्रा’ श्रावण १८ गतेदेखि २४ गतेसम्म सुर्माभवानीमा जात्रा लाग्ने स्थानीयले बताएका छन ।
जात्राको पहिलो दिन आइतबार रतेडी जात हुने अपिहिमाल गाउँपालिका–३ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । यो जात्रा अपिहिमाल गाउँपालिका–३ क्षेती घाजिरमा लाग्ने गर्दछ । अपिको घाजिर हुँदै बझाङ्गको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ । उच्च हिमाल शृङ्खलाको बिचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
सुर्माभवानीलाई बझाङ्गका शिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको धार्मिक मान्यता छ । सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङ्गबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
जात्राका लागि क्षेत्री पुख्र्याैली घर भएका स्थानीय र घाजिर थर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढोबिरे भन्ने चलन छ ।