back to top
बुधबार, २०८२ श्रावण २८ गते

शुक्लाफॉटामा ४० बयस्क बाघ स्वचालित क्यामेरामा कैद !

शुक्लाफॉटामा ४० बयस्क बाघ स्वचालित क्यामेरामा कैद !

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफॉटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४३ पुगेको छ । निकुञ्ज कार्यालयले मंगलबार बाघ दिवसका अवसरमा गत बर्ष गरिएको बाघ अनुगमनको उक्त नतिजा सार्वजनिक गरेको हो ।

निकुञ्जका अनुसार २१ भाले र १९ पोथी गरि ४० बाघ क्यामेरामा कैद भएका छन् । त्यस्तै ३ वटा विश्लेषणका आधारमा ४३ बाघ रहेको नतिजा सार्वजनिक गरिएको छ । अघिल्लो वर्ष गरिएको गणनामा २४ भाले र १७ पोथी सहित ४१ बयस्क बाघ निकुञ्जमा थिए ।

‘आहारा प्रजाती र वासस्थानको उपयुक्त व्यवस्थापनकै कारण यहॉ बाघको संख्या पनि राम्रो छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, ‘आहारा प्रजाती देशमै अन्य संरक्षित क्षेत्र भन्दा राम्रो छ ।’ यहॉ आहारा प्रजातीको घनत्व १ सय ४६ गर्वकिलोमिटरमा रहेको छ ।

बाघको राष्ट्रिय गणना हरेक ४–४ वर्षमा गरिन्छ । सन् २०२२ मा गरिएको गणनामा यहॉ ३६ बयस्क बाघ रहेका छन् । संख्या कम भएको र शिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा वर्षेनी अनुगमन गरिदै आएको छ । यसले संरक्षणको रणनीतिसंगै वासस्थान व्यवस्थापनमा सहयोग पुग्ने गर्छ ।

‘विगत भन्दा बाघको विचरण भने राम्रो देखिएको छ, निकुञ्जको सबै क्षेत्रमा बाघको विचरण देखिएको छ.’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफॉटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अघिल्लो वर्षको अनुगमनमा निकुञ्जको पश्चिमी क्षेत्रमा मात्रै बाघको विचरण देखिएको थियो, अहिले पुर्वी क्षेत्रमा पनि राम्रो उपस्थिति छ । ’उनका अनुसार नयॉ वासस्थान बनाउने क्रममा बाघले पुर्वी क्षेत्रमा विचरण बढाएको बताए । विगतको तुलनामा डमरुको संख्या पनि राम्रो देखिएको उनले बताए ।

निकुञ्जलाई २ गुणा २ वर्गकिलोमिटरका हिसाबले विभिन्न ग्रीडमा विभाजन गरेर हरेक ग्रीडमा एक÷एक जोडी स्वचालित क्यामेरा राखेर बाघको अनुगमन गरिएको थियो । यस पटक निकुञ्जलाई एक सय ग्रीडमा विभाजन गरेर दुई सय क्यामेरा जडान गरिएको हो । उक्त स्वचालित क्यामेराले कैद गरेका ८ हजार बढी फोटोहरु विश्लेषण गरेर नतिजा निकालिएको हो । गत वर्ष कार्तिक २८ देखि पौष १० गतेसम्म बाघ अुनगमन गरिएको थियो ।

‘सह अस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि व्यवहार परिवर्तन’ भन्ने नाराका साथ श्रावण १३ गते मंगलबार बाघ दिवस मनाइएको छ । बाघ दिवसकै अवसरमा निकुञ्जले गत वर्ष गरिएको अनुगमनको नतिजा सार्वजनिकसंगै निकुञ्जको अर्जुुनी क्षेत्रमा रहेको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सरसफाई पनि गरेको छ ।

समयसीमा अपडेट