back to top
बुधबार, २०८२ श्रावण २८ गते

महाकाली पारी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम सुरु

महाकाली पारी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम सुरु

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । दोधारा चाँदनी नगरपालिका–१ पर्ने मलेरिया खोला पारीको क्षेत्रमा मङ्गलबारदेखि सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो ।

प्रारम्भिक चरणको उद्घाटन गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निर्माणपछि सुदूरपश्चिम क्षेत्र मात्र नभई मुलुककै आर्थिक समृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको बताए ।
गजुरेलका अनुसार रुख कटानको प्रक्रिया सम्पन्न भएसँगै भारतीय निर्माण कम्पनीले भुभाग सम्याउने, पर्खाल निर्माण, सामग्री आपूर्ति लगायतका काम थालेको छ ।

गृहमन्त्री रमेश लेखक दुई साताअघि मात्रै सुख्खा बन्दरगाह निर्माण स्थल पुगेका थिए । समयसीमा–फाईल तस्वीर

भारतसँगको आयात मात्र नभइ तेस्रो मुलुकमा निर्यात गर्न बन्दरगाह उपयोग गर्न सकिने कार्यकारी निर्देशक गजुरेलले बताए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण हुन लागेको हो ।

परियोजना निर्माणमा दुई अर्ब ५४ करोड भारतीय रुपैया खर्च हुने अनुमान गरिएको छ । बन्दरगाह ४२.३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसअन्तर्गत पहिलो चरणमा २५.०३ हेक्टरमा दुई गोदाम, भन्सार, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण गरिनेछ ।
गौरीशंकर सामुदायिक वन क्षेत्रमा १ हजार ७०५ रुख कटान गरी हटाए संगै परियोजनाको थप काम सुरु भएको हो । नेपाल–भारतबीच सन् २०२३ जुन १ मा बन्दरगाह निर्माण परियोजनाको सम्झौता भएको थियो ।

परियोजनाको औपचारिक शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने बताईएको छ ।

समयसीमा अपडेट