महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रबाट चार जनालाई अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका–११ मा पर्ने डोकेबजार बाट एक जना र कृष्णपुर नगरपालिका–६ सिंहपुरबाट तिन जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने १९ वर्षीय आयुष मल्ललाई २ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवश्थामा लागूऔषध सहित पुर्नवासस्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरस्थित राना टोल नजिक सडकबाट ४ ग्राम २ सय २० मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरु चारै जनालाई आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।