महेन्द्रनगर– कञ्चनपुर उद्योग बाणिज्य संघको वर्तमान कार्य समितिको ६ महिने कार्यकाल थप गर्ने निर्णयपछि समिति सदस्य कृृष्ण प्रसाद पाठकले राजीनामा दिएर बाहिरिएका छन् ।
संघको वर्तमान समितिको असारमा तीन वर्षे कार्यकाल सकिएपछि समितिको ६ महिना कार्यकाल थप गरिएको छ । समितिको कार्यकाल थप गर्ने विषयमा विमति राखेर कार्य समिति सदस्य पाठक बाहिरिएका हुन् ।
कार्य समिति सदस्य पाठकले असारमा कार्यकाल सकिन अगावै नयाँ समितिको चयन प्रक्रियामा जानु पर्ने माग राखेका थिए । पाठकको माग सुनवाई नगरी कार्यकाल थप गर्ने निर्णय गरिएपछि उनले राजीनामा दिएका हुन् ।
संघको विधानमा विशेष परिस्थितमा संघको कार्यकाल ६ महिना थप गर्न सकिने प्रावधान छ । त्यसैका आधारमा समितिको ६ महिने कार्यकाल थप गरिएको छ ।
कार्य समिति सदस्य पाठकले भने समितिको कार्यकाल थप गर्ने निर्णय हुन लागेपछि जेठमै राजीनामा दिएको थिए । साउन २ गते बसेको संघको ४४ औं कार्य समिति बैठकले पाठकको राजीनामा स्वीकृत गरिएको संघका एक पदाधिकारीले जानकारी दिए ।
संघका पूर्व महासचिव समेत रहेका पाठकले पनि आफूले ६ महिने कार्यकाल थप गर्ने निर्णयपछि नैतिक्ताको आधारमा राजीनामा दिएको बताए । ‘विधानमा विशेष परिस्थितिमा ६ महिने कार्यकाल थप गर्ने व्यवस्था छ, त्यो भनेको भूकम्प, महामारी, दैवी प्रकोप लगायत अन्य काबु बाहिरका परिस्थित हुन्, अहिले त्यस्तो केही पनि छैन’ उनले भने,‘यस्तो अवस्थामा विधानको अपब्याख्या गरी कार्यकाल थप्नु हुँदैन भन्ने थियो, यो नैतिकताले पनि थप्न सकिने विषय थिएन, त्यही भएर मैले राजीनामा दिएर आए ।’
कार्य समिति बैठकमा पाठकले कार्यकाल थप्नुको औचित्यबारे नेतृत्व सहित पदाधिकारीलाई बैठकमा सोधका थिए । बैठकका सहभागीहरुका अनुसार विधानको व्यवस्था भएको र विगतदेखि थपिँदै आएको थप गर्न लागिएको तर्क राखेका थिए । पाठकले बैठकमा पनि पूर्व अध्यक्ष सुरेश रावलको कार्यकाल थप नगरिएको जानकारी गराएका थिए । तीन वर्ष अघि २०७९ असार २६ गते भएको संघको १७ औं कार्य समिति निर्वाचनबाट पिताम्बर जोशीको नेतृत्वमा कार्य समिति निर्वाचित भएको थियो ।