महेन्द्रनगर– बङ्गलादेशमा जारी साफ यु–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ ।
ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक–एक गोल गरे । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।
यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको घरेलु टोली बङ्गलादेशसँग मात्रै पराजित भएको छ । घरेलु टोलीसंग ३–२ गोलले हारेको थियो ।
च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालको १२ अङ्क प्गेको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।
च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।